
आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहेका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताए ।
अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत संगठित संघसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचारू गर्नुपर्नेमा जोड दिए ।

