

दाउन्नेमा आजदेखि गाडी रोकेर काम गरिँदै, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह




नवलपुर । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
२०८२ बैशाख १ देखि १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । सडक विभागले बाटो बन्द भएको बेला ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ । यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायतका सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोकिनेछ ।
गैंडाकोटदेखि पाल्पा हुँदै बुटवल जाने बाटोमा साना गाडीहरुमात्र चल्छन् । साना–ठूला सबै गाडीहरुका लागि भने नारायणघाट–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार अहिले पनि केही गाडीहरुले यही रुट प्रयोग गर्दै आएका छन् ।