

सान्भी इनर्जीले वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई वैशाख ५ गतेबाट आइपिओ बिक्री गर्ने




काठमाडौं । सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आगामी वैशाख ५ गतेदेखि आइपिओ जारी गर्ने घोषणा गरेको छ ।
कम्पनीले पहिलो चरणमा आठ लाख ८० हजार कित्ता आयोजना प्रभावित र दुई लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिशेयर सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
आयोजना प्रभावितवाला सेयरमा इलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले आवेदन दिन पाउँछन् ।
घटीमा १० कित्ता र बढीमा २० हजार कित्ता सेयरका लागि वैशाख १९ गतेसम्म आवेदन दिने व्यवस्था छ । कसैगरी आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेको खण्डमा जेठ ३ गतेसम्म समय थपिनेछ । यो सुविधा आयोजना प्रभावितलाई मात्रै हो ।
यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । पहिलो चरणको आइपिओ बाँडफाँटपछि बाँकी रहेको सेयर दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।