

आँखा चिम्लेर विश्वास गर्न सक्ने संचार माध्यमको खाँचो छ : मधेश प्रदेश कार्यालय




काठमाडौं । नेपाल बीमा प्राधिकरण अन्तर्गतको मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले बीमा दर्पण डटकमलाई आर्थिक क्षेत्रको सूचना सम्प्रेषणमा भरपर्दो पोर्टल बन्न शुभकामना दिएकी छिन् । उनले पछिल्लो समय संचार माध्यमहरुको संख्या बढ्दै गर्दै विश्वस्नीयताको समेत सोही अनुसार वृद्धि हुनु पर्ने खाँचो औँल्याएकी हुन् ।
बीमा प्राधिकरणकी मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले विरगंजबाट भनिन्,‘बीमा दर्पण डटकम नयाँ उदाउँदो अनलाइन पत्रिका हो । अहिले बीमा क्षेत्रमा लेख्ने र अन्य क्षेत्रमा लेख्ने पत्रिकाहरु बढीरहेको हामीले देख्छौं । तर, यस्तो विश्वासिलो पत्रिकाको खाँचो छ कि जसलाई म एक शब्दमा भन्छु आँखा चिम्लेर विश्वास गर्न सकिने कुनै पत्रिका छैन, आजसम्म छैन । बीमा दर्पण त्यस्तो विश्वासिलो पत्रिका बन्न सकोस् भन्ने हाम्रो आशा हो । अर्को कुरा भनेको समाचारका स्रोतहरु भरपर्दो रुपमा राख्न जरुरी देखिन्छ । कतिपय अवस्थामा हतार–हतारमा लेख्दा केही विषयहरु अस्वस्थ प्रतिस्पर्धाकै चक्करमा फस्न पुगेको हामीले पाउँछौ । म त तपाईहरुलाई छिटो गर्ने र धेरै वटा समाचार हाल्नेतर्फ लाग्ने पुरातनशैली भन्दा बरु सही समाचारमा नै फोकस हुन्छु भन्नेमा लाग्नु होला भन्न चाहान्छु । हाम्रोमा (नर्मल्ली कस्तो ट्रेण्ट) साधारणतया यहाँको चलन भनेको शहरी क्षेत्रमा मात्रै समाचार लेख्ने गरिएको पाइन्छ । अब यहाँहरुले ग्रामिण तहको पनि विषय बस्तुहरुलाई स्थान दिनु होला ।’
उनले थपिन्,‘ग्रामिण तहमा लोकल किसिमका न्युज र साधारण विषय वस्तुहरु पनि आवश्यक हुने भएकाले त्यस्ता विषयलाई पनि प्राथमिकता दिनुपर्छ । लोकल भेगका कुराहरु उहाँले लेख्दै गर्दा जहाँ बीमा नपुगेका ठाउँहरु छन् त्यहाँ तपाईहरुले पुर्याउन सक्नु हुन्छ । अझ साच्चै भन्दा ग्रामिण तहमा, मध्यम वर्गिय परिवारहरुमा बीमाको आवश्यकता बढी छ । यहाँहरुले आवश्यक ठाउँमा जानकारी पुर्याएर नयाँ रोल र ठूलो भूमिका खेल्न सक्नु हुनेछ । बीमा दर्पणलाई आगामी दिनमा, बीमा क्षेत्रमा रहेका जनचेतनाको कमी, हामीले ठाउँमा पुग्न नसकेका कुराहरु, ग्रामिण तहमा सेवा दिन नसकेको जस्ता हाम्रोतर्फबाट पनि कमी भएको ठाउँमा बीमा दर्पणले कुनै न कुनै बाटोबाट बीमा सेवा बढाउन सहजिकरण गरोस् भन्ने छ । बीमा क्षेत्रको विकासबाट देशको अर्थतन्त्रमा हामीले ठूलो योगदान पुर्याउने हिसाबले गरिएका कदमहरुमा यहाँहरुको तर्फबाट पनि सहि जानकारीहरु सम्बन्धित ठाउँमा पुग्न सकोस् भन्न चाहान्छु । नयाँ सुरुवातको लागि फेरी पनि धन्यवाद भन्न चाहान्छु ।’