
आउँने आर्थिक वर्षको बजेटका लागि स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ वर्षको बजेटलक्षित छलफल सम्पन्न भएको छ । सो छलफल अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग एक एक गरी गरेको हो।
सोही छलफलमा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु पर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रमदेखि नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गर्दै जोड दिइयो।
त्यसरी नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्ति लगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरेको बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए । उनले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा राखे।
शुक्रबार उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । उनले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउँदा उद्योग मन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए का हुन्।
साथै, राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नु पर्ने स्पष्ट पारे। छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसंख्या सचिव, उद्योग सचिव, विभागीय प्रमुख लगायतको उपस्थिति थियो । यस अघि अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, शहरी र उर्जा मन्त्रालयसँग छलफल गरेको जनाइएको हो।


