

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट लाभांश पारित




काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको अग्रणी कम्पनी शिखर इन्स्योरेन्सले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पनन गरेको छ । कम्पनीले आज केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथलीमा वार्षिक सभा सम्पन्न गरेको हो।
सोही सभामा कम्पनीका संचालक समितिका अध्यक्ष गौरव अग्रवालले अध्यक्षता गरे भने आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरेको हो । सोही सभामा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ बराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ ।
साथै, सम्पन्न सोही सभामा नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन भएको अवस्था छ।
त्यसैगरी सभाले गत आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुको साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।