

सरकारको विश्वास ओझेलमा पार्दिन : बीमा प्राधिकरणका अध्यक्ष ओझा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेका छन् । यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उनलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । प्राधिकरणमा कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए भने उनले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महशूस हुने गरी सबैको सहकार्यमा कार्यान्वयन योग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए ।
बीमा ऐन, नियम, निर्देशिका एवम् मापदण्ड बमोजिम अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताए ।
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शिघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवम् प्राधिकरण संचालक समितिका सदस्य मदन दाहाल उपस्थित थिए ।
यसअघि, नवनियुक्त अध्यक्ष ओझा नेपाल बीमा प्राधिकरणमा आउँदा उनलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।