

रौटहटको मौलापुरमा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न




काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशद्धारा रौतहटको मौलापुरमा बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । बीमा प्राधिकरणका प्रदेश प्रमुख प्रीति देवको सभापतित्व तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
बीमा प्राधिरणका सहायक प्रथम सागर आचार्यले संचालन गरेको सोही कार्यक्रममा करिब ८० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले सबैखाले घरको बीमा गर्न मिल्छ कि मिल्दैन ? कृषी बीमा कस्ले गरिदिन्छ ? कृषि बीमाका मापदण्डहरु के-के छन् ? जीवन बीमाको नविकरण कहिले गर्नुपर्छ ? बीमाले समेटने प्राकृतीक प्रकोपमा आगो पर्छ कि पर्दैन ? भारतिय बीमा कम्पनीको दाबीमा नेपाल बीमा प्राधिकरणले सहयोग गर्छ कि गर्दैन ? छोटो समयको भ्रमणको बीमा, पशु बीमाको दाबी भुक्तानी पाइने अवधि, जीवन बीमामा कति किस्तामा सुविधा पाइनेदेखि छिमेकी मुलुक जस्तो विपन्न वर्गका लागि बीमा सहुलियत पाइने सम्मका कुराकानी उजागर गरिएको थियो ।
कार्यक्रममा मौलपुर नगरपालिकाका प्रशासकीय प्रमुख रामबाबु प्रसाद साहले शिक्षामा बीमा समावेश गर्न आवश्यक रहेको, चालु आर्थिक वर्षको बजेटमा बीमा समावेश नभए पनि आगामी आर्थिक वर्षमा समावेश हुने बताए ।
मौलापुर नगरपालिकाका नगर उप–प्रमुख नागेन्द्र प्रसाद यादवले बीमा गर्न अति जरुरी भएकोले समयमा बीमा गराउन सबैलाई सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि मौलापुर नगरपालिकाका नगर प्रमुख रीना कुमारी साहले कृषी बीमा अति आवश्यक रहेको र बीमाको महत्व बारेमा सबैलाई जानकारी गराउनु पर्ने बताइन ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख प्रीति देवले कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै आवश्यकता अनुसार सबैले बीमा गर्न सुझाव दिँदै कार्यक्रम समापन गरिएको थियो ।